सिरहाका दुई लघुवित्तको कार्यालयमा आगजनी

काठमाण्डु टुडे २०८१ भदौ ११ गते १८:३० मा प्रकाशित

काठमाण्डु, ११ भदौ– सिरहामा दुई लघुवित्त वित्तीय संस्थामा आगजनी भएको छ । सिरहाको गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चोहर्वा शाखामा महिलाको एक समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यसक्रममा कार्यालयका कागजात तथा कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता उपकरणसमेत जलाइएको प्रहरीले जनाएको छ । करिब २० जनाको समूहमा आएका महिलाले सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड कार्यालयभित्रै ल्यापटप दुई थान र टेबलमा भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर जलाएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार दुईरतीनजनाका दरले ग्राहकजस्तै भएर आएका महिलाले एक्कासि कागजात र ल्यापटप नियन्त्रणमा लिएर जलाएको उनले जानकारी दिएका छन । यसैगरी, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा पनि दुईवटा डेक्सटप कम्प्युटर कामै नलाग्नेगरी फुटाइएको र विभिन्न कागजात नियन्त्रणमा लिइएको जनाइएको छ ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति नेपालले घटनाको जिम्मा लिएको छ । सरकार र सङ्घर्ष समितिको कार्यदलले बनाएको प्रतिवेदन लघुवित्तले कार्यान्वयन नगरेकाले आफूहरू सङ्घर्षमा जान बाध्य भएको सङ्घर्ष समितिका मधेस प्रदेश अध्यक्ष अर्जुन विश्वकर्माले जानकारी दिए ।

उनले भने, ‘अर्थ मन्त्रालय, राष्ट्र बैङ्कका प्रतिनिधि र सङ्घर्ष समितिले मेहनत गरेर बनाएको प्रतिवेदन कार्यान्वयन भएन । पीडितहरूले पीडा खप्न नसकेपछि आजको कारबाही भएको हो ।’

आगलागीमा संलग्न रहेको आरोपमा करिब १० जना महिलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us