गौरापर्वमा पोखिएको आक्रोशः एमालेको घर झगडा

काठमाण्डु टुडे २०८१ भदौ ११ गते ८:०८ मा प्रकाशित

Screenshot

काठमाण्डु, ११ भदौ– प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवा सोमबार काठमाण्डुको टुँडिखेलमा आयोजित गौरा पर्वमा सहभागी थिए ।

दुई नेतासँगै केही मन्त्री र सुदूरपश्चिमका सबै दलका नेता कार्यकक्रममा थिए । सुदूरपश्चिमको पहिचान बोकेको गौरा पर्वमा एकआपसमा सदभाव बाँड्ने गरिन्छ ।

सुदूरपश्चिमका ९ जिल्लामा मनाइने उक्त पर्व पछिल्लो केही वर्षयता काठमाण्डुमासमेत मनाउन थालिएको छ ।

जब प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुगे तब दर्शकदीर्घामा रहेका युवाहरुको समूहले नाराबाजी गर्न थाल्यो । उत्तेजित भिडले पानीका बोत्तल र बेलुन प्रहार गर्न खोज्यो । उनीहरुले ‘ओली चोर देश छोड, देउवा चोर देश छोड भनेका थिए ।  यद्यपि त्यस्ता घटना भएनन् । नाराबाजी गर्ने समूहले ओली देउवालाई देश छाडेर जान भने । जवाफमा ओली र देउवा नयाँ पुस्तामा संस्कार हराउँदै गएको भन्दै नाराबाजी गर्ने समूहप्रति जाइलागे ।

ओलीले बहुसांस्कृतिक र शान्तिप्रेमी समाज बिथोल्ने र भड्काउने प्रयास सफल नगर्न युवाहरुलाई चेतावनी दिए । उनले त्यस्तो प्रयास सफल हुन नदिइने पनि बताए । नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको ओलीको भनाइ थियो ।
देउवाले भने युवाहरुलाई बदमासको संज्ञा दिए ।

उनले कार्यक्रम बिथोल्न खोजिएको भन्दै नेपालमा यस्तो चलन स्वीकार्य नहुने बताए । देउवाले हुलहुज्जत गर्नेलाई ठीक पार्नुपर्ने चेतावनी पनि दिए । नाराबाजी गर्ने समूहलाई उनले बदमासको संज्ञा दिए ।
नाराबाजी गर्नेमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ । तर, पक्राउ परेकाहरुबारे विस्तृतमा खुलाइएको छैन ।
कसले गरायो घटना ?

नाराबाजी गर्ने समूह राजनीतिक समूह हो भन्ने त स्पष्ट हुन्छ । तर, उनीहरु कसबाट परिचालित थिए भन्नेबारे भने विभिन्न अड्कालबाजीहरु काटिएका छन् । कसैले काठमाण्डुका मेयर बालेन्द्र साहका समर्थक त कसैले बंगलादेशको हावा नेपालमा प्रवेश गरेको भनेका छन् । तर, बास्तविकता फरक छ । प्रहरी उच्च श्रोतका अनुसार कार्यक्रममा नारबाजी गर्नेहरु एमाले कार्यकर्ता हुन् ।

एमाले सुदूरपश्चिमभित्र भुसको आगो झैं फैलिँदै गएको ओलीप्रतिको आक्रोश टुँडिखेलमा विस्फोट भएको छ । ओलीले कर्ण थापालाई पाखा लगाएर उद्योगमन्त्री समेत रहेका दामोदर भण्डारीलाई काखी च्यापेपछि ठूलो समूह ओलीको खिलाफमा छ । ‘दामोदर भण्डारी गुट हाबी भएपछि कर्ण थापा समूह बाहिर छ । पार्टीमा भण्डारीभन्दा थापा बलिया छन् ।

पार्टीभित्रको झगडा खुलामञ्चमा पोखिएको हो’, एमालेका एक नेताले भने । लामो समय ओलीनिकट रहेका थापा पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट छन् । श्रोतका अनुसार थापाका लागि ओली निवास बालकोट र प्रधानमन्त्रीनिवास बालुवाटारको गेट बन्द छ ।

थापा र एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावल समर्थक पनि नाराबाजीमा संलग्न रहेको रिपोर्ट प्रहरीले प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र काँग्रेस सभापति देउवालाई गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us