अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैनः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ भदौ १० गते १३:५७ मा प्रकाशित

काठमाण्डु, १० भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापि नहुने बताएका छन ।

आज सोमबार जिल्ला प्रहरी परिसर, काठमाण्डुको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगरी बरु प्रोत्साहन गर्ने भन्दै सरकारले कुनै पनि किसिमको शक्तिको दुरुपयोग गर्ने काम नगर्ने बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन । अहिलेको सरकारले कसैलाई फसाऔँ भनेर आदेश दिँदैन । ढुक्कले काम गर्नुहोस् । निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन । ढुक्कले काम गर्नुहोस् । अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौँ ।

औचित्यको आधारमा सरुवा गरिने छ । सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन तपाईँहरू स्पष्ट हुनुहोस् ।’ उनले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्त्व दिन नहुने भन्दै अब पुरानो शैलीमा अपराध नियन्त्रण गर्न नसकिने पनि बताएका छन । उनले भने,‘हामीले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्त्व दिनुहुँदैन ।

म तपाईँहरूले सुझाव दिन चाहन्छु । पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उपलब्धि हुनेवाला छैन । पुरानो घुमुवाको तरिकाबाट होइन यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ ।

अब स्रोत, साधनले सम्पन्न बनाएर तपाईँहरूको अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ । अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्त्वपूर्ण छ । यसो भयो भने अपराधीको मानसिकता फैलिँदैन । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us