इको ब्राण्डको मिनिरल वाटरमा भेटियो कीटाणु

काठमाण्डु टुडे २०८१ साउन २५ गते १८:१७ मा प्रकाशित

काठमाण्डु, २५ साउन– इको ब्राण्डको मिनिरल वाटरमा कीटाणु फेला परेको छ । आज शुक्रबार काठमाण्डुको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा कीटाणु भेटाएका थिए ।

सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो कीटाणु भेटिएपछि काठमाण्डु महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपक्षी विभागमा पठाएको छ ।

मिनिरल वाटरको बोतलमा राखिएको पानीमा लार्भाजस्तो वस्तु देखिएपछि अनुगमनका लागि सम्बन्धित विभागमा सिल गरेर पठाउने काम गरिएको काठमाण्डु महानगरपालिकाका प्राविधिक अशोक पराजुलीले जानकारी दिएका छन । उनले भने, ‘यो हामी विभागमा जान्छौँ । अनि उहाँहरूसँग लिखित स्पष्टीकरण माग्छौँ ।

उहाँहरूलाई कारबाहीका लागि के गर्ने भनेर माथिबाट सरहरूले निर्णय गर्नुहुन्छ । कारबाही तोक्ने कुरा उहाँहरूले गर्नु हुन्छ । मैले पानीमा हेर्दाखेरी लार्भा जस्तो कीराहरू देखिएको छ ।

यो एउटा कैफियत नै हो । कारबाही हाम्रो कृषि तथा पशुपक्षी विभागले गर्छ । कीटाणु नै भन्न सकिएन । तर प्रारम्भिक रूपमा लार्भा हो जस्तो लाग्यो ।

स्थानीय ऐन अनुसार उहाँहरूमाथि कारबाही हुन्छ ।’ प्राविधिक पराजुलीका अनुसार काठमाण्डु महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले सो वाटरमा रहेको लार्भाजस्तो वस्तु कीटाणु होरहोइन भनी परीक्षण गरेर मात्रै कानुनी कारबाहीको प्रक्रियामा अघि बढाउने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us