उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हाश्मीबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ साउन २४ गते १८:३२ मा प्रकाशित

काठमाण्डु, २४ साउन– उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सुमधुर सम्बन्ध रहेको उनले बताए ।

उनले भने, ‘दुई मुलुकबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रो सम्बन्धका सबै पक्षलाई गतिशील बनाएको छ ।’ उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तार गर्नुपर्ने धारणा राखेको उनको सचिवालयले जानकारी दिएको छ ।

भेटमा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तान एक अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएको आएको बताए ।

उनले भने, ‘वर्षौंदेखि हामी एकअर्कालाई सम्मान गर्दै अगाडि बढिरहेका छौं । आगामी दिनमा दुई देशको सम्बन्ध थप बलियो र मजबुत हुने विश्वास लिएको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us