नेपाली आकाश सुरक्षित छैन: सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ साउन २४ गते १८:२३ मा प्रकाशित

काठमाण्डु, २४ साउन– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको दाबी गरेका छन ।

आज बिहिबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले यस्तो बताएका हुन ।

उनले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने पनि बताएका छन । उनले भने, ‘अस्ति पनि भयो सौर्य एयरको विमान भयो एयरपोर्टमै, हिजो पनि एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भयो, नेपाली आकाश सुरक्षित छैन भन्ने यसले पुष्टि गरेको छ ।’

मन्त्री गुरुङले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे। यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिएका छन ।

नुवाकोटको शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेली सर्भिस प्रालिको ९ एन–एजेडी कल साइन रहेको हेलिकप्टर दुर्घटना भएको थियो। सो दुर्घनाको जाँच गरी काम सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने सरकारको निर्णय रहेको प्रवक्ता गुरुङले बताए ।

यसरी पटकपटक हवाई दुर्घटना हुनु भनेको हाम्रो आकाश सुरक्षित छैन भन्ने सङ्केत गरेको उनले बताएका छन । हेलिकप्टर दुर्घटनामा परेका नेपालीसहित चिनियाँ नागरिकप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले समवेदना प्रकट गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us