युवा–विद्यार्थीले आन्दोलन चर्काएपछि मेयर हर्क साम्पाङले बोलाए वार्तामा

काठमाण्डु टुडे २०८१ साउन २४ गते १६:४२ मा प्रकाशित

काठमाण्डु, २४ साउन– राजनीतिक दलका युवा विद्यार्थीहरूले प्रदर्शन चर्काएपछि धरानका मेयर हर्क साम्पाङले खानेपानी शुल्क विवादबारे विद्यार्थीहरूलाई वार्तामा बोलाएका छन ।

तर मेयर साम्पाङले मौखिक रूपमा गरेको यस्तो आग्रह वेवास्ता गर्दै प्रदर्शनकारीले उपमहानगर गेटैमा प्रदर्शन जारी छ । ‘गेट नजिकै आएर मेयरले आइतबार १० बजेका लागि वार्तामा बोलाउँदा हामी सकारात्मक नै थियौं,’ नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलले भने ‘तर, मेयर वार्तामा बोलाउने, प्रहरी चाहिँ प्रदर्शनकारी विद्यार्थीमाथि बल प्रयोग गर्ने भएपछि हामीले मेयरलाई माफी माग्न र लिखित आह्वान गर्न भनेका छौं ।

प्रदर्शन जारी छ।’ सभापति पोरखेलका अनुसार आन्दोलनकारीको यस्तो अडानपछि मेयर साम्पाङले वार्ताका लागि लिखित पत्र पठाउने तयारी गरेका छन्। उनले खानेपानी शुल्क र महसुल वृद्धिको निर्णय फिर्ता नभएसम्म आन्दोलन नरोकिने जानकारी पनि दिएको । खानेपानी महसुल र शुल्क वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका धरानका १० राजनीतिक दलहरूको प्रदर्शनका कारण बिहीबार उपमहानगर कार्यालय परिसर तनावग्रस्त बनेको छ ।

शुल्क र महशुल वृद्धिको निर्णय खारेजीको माग गर्दै बिहीबार ११ बजे नै उपमहानगरको गेटमा पुगेका प्रदर्शनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै गेटमा तोडफोडसमेत गरेका छन्।

बाहिर प्रदर्शन चलिरहँदा मेयर हर्क साम्पाङ कार्यालय परिसरभित्रै छन्। बिहीबार उपमहानगर कार्यालय घेराउ गर्ने क्रममा आन्दोलनमा सहभागी भएका केही युवाहरूमाथि बल प्रयोग गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us