हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छ: अध्यक्ष नेपाल

काठमाण्डु टुडे २०८१ साउन २४ गते ११:४२ मा प्रकाशित

काठमाण्डु, २३ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन ।

आज बिहिबार अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन । उनले भनेका छन, ‘देशमा पछिल्लो समय हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो छ, तर उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभावले उडान चुनौतीपूर्ण हुने गरेको सम्बद्ध क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् ।

दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन, दुर्घटनाको जोखिम कम गर्न तथा देशको आकाशलाई सुरक्षित बनाउन सम्बन्धित निकायलाई गम्भीर हुन आवश्यक छ ।’

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

नेपालले दुर्घटनामा दिवङ्गत पाइलट अरुण मल्ल र चिनियाँ नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र चीन सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us