काठमाण्डु, २० साउन– पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने बताएका छन ।
जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने पनि बताएका छन ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सांसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएकोले पनि यो गठबन्धन टिकाउ हुने पनि बताएका छन ।
तत्काल गठबन्धन भित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना नरहेको उनले बताएका छन । पूर्व उपप्रधानमन्त्री निधीले वर्तमान गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने पनि बताएका छन ।
यसले देशमा विकासका बाटाहरू समेत प्रशस्त गर्ने दाबी उनको छ । उनले दुई ठुला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पारेका छन ।