चितवन, २० साउन– चितवनस्थित नारायणी नदी किनारमा एक पुरुषलाई बाघले आक्रमण गरेको छ ।
भरतपुर महानगरपालिका–२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई आइतबार बिहान ५ बजेको समयमा मर्निङवाकमा रहेका बेला नारायणगढ नजिकै नदी किनारमा बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट घाइते श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अनुहार र हातमा चोट लागेको छ ।
चितवन प्रहरीका डिएसपी भेषराज रिजालले आक्रमणकारी बाघलाई नियन्त्रणमा लिने तयारी भइरहेको बताए ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख थीरबहादुर कार्कीले श्रेष्ठलाई आक्रमण गर्ने जनावर बाघ वा चितुवामध्ये एक भएको बताए । तर, रेडियो कलर जडान नगरिएका कारण आक्रमणकारी जनावरको खोजी गर्न केही समस्या भएको कार्कीले उल्लेख गरे ।
उक्त जनावार नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको समेत सहयोग मागिएको उनको भनाइ छ ।