सबै दललाई साथ लिएर संविधान संशोधन हुन्छ: योगेश भट्टराई

काठमाण्डु टुडे २०८१ साउन १९ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, १९ साउन– एमाले सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन ।

आज (शनिबार) ताप्लेजुङ सरोकार केन्द्रले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले यस्तो बताएका छन । सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउन सोच सत्तारुढ गठबन्धनले लिएको बताएका छन ।

सचिव भट्टराईले भने, ‘संविधानमा केही कुराहरुलाई हामीले नयाँ ढंगले हेर्नुपर्नेछ, बुझ्नुपर्नेछ । त्यसको अर्थ नेपालको राजनीतिक व्यवस्थालाई पछाडि फर्काउने होइन । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ सम्बोधन गर्नुपर्नेछ । संशोधन गर्नुपर्नेछ ।

यसको निम्ति नेपाली कांग्रेस र एमालेले अग्रसरता लिएपनि संसद्‌मा भएका अथवा नभएका राजनीतिक शक्तिहरु र पार्टीहरुलाई एकसाथ लिएर हामी त्यो कार्यभारलाई समेत पूरा गर्ने गरी अगाडि बढ्ने सोचिरहेका छौँ ।’ संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे ।

‘विद्वानहरुले संविधानका बारेमा दिएका आफ्ना सुझावहरु हामीले प्राप्त गर्ने नै छौँ । त्यसले संविधानलाई अझै गतिशील बनाउन, संविधानलाई अझै राम्रो बनाउनका निम्ति सहयोग गर्नेनै छ’ उनले भने, ‘यीनै उद्देश्यका साथ आज हामी नयाँ सहकार्यका साथ अघि बढेका हौँ । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us