ओलीलाई प्रधानमन्त्री बनाउन भित्र र बाहिरका को–को सक्रिय ?

काठमाण्डु टुडे २०७१ भदौ २ गते ४:१० मा प्रकाशित

KP Oliकाठमाण्डु, २ भदौ– प्रधानमन्त्री सुशील कोइरालाबाट पार नलाग्ने भएपछि काँग्रेसभित्रैबाट विकल्प खोज्न थालिएको छ ।

कोइरालाको विकल्पका बारेमा एमाले नेतृत्वसँग कांग्रेस नेताहरु सम्पर्कमा आउन थालेका छन् । तर कांग्रेसले आफू सरहको शक्ति एमालेसँग सत्ता सहयात्रीको व्यवहार गर्नुको साटो दपेट्ने ढंगले प्रस्तुत भएपछि एमालेभित्रैबाट सरकारको नेतृत्व लिनुपर्ने छलफलसमेत हुन थालेपछि सत्ता राजनीति एकाएक गर्माएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा दुईपटक सरकारमा सहभागी एमाले मन्त्रीहरुसँग सरकार सञ्चालनको तौरतरिकाबारे छलफल गर्दा निराश बन्नुपरेको स्रोतले जनाएको छ ।
एमाले मन्त्रीहरुले कांग्रेसका कारण र विशेष गरी प्रधानमन्त्रीका कारण जनताको पक्षमा चाहेको र सोचेको काम गर्न नपाएको भन्दै कि काम गर्ने वातावरण बनाइदिन कि सरकारबाट बाहिरिन सुझाव दिएपछि ओली गम्भीर बनेका छन् ।
यसबीचमा कांग्रेस नेताहरुले पनि एमालले सरसकार छाडेर गए हुन्छ भन्ने खालका अभिव्यक्ति दिन थालेपछि सरकारबारे एमाले सोच्न बाध्य भएको हो ।

‘हामी माघ ८ सम्म संविधान जारी नगरुन्जेल सरकारको बारेमा नसोच्ने भनेका थियौं तर, कांग्रेस कै कारण अप्रिय अवस्था आउन लागेको छ,’ एमाले अध्यक्ष ओलीले भने, ‘सरकार निकम्मा र गैरजिम्मेवार बनेको छ, हाम्रा मन्त्रीहरुलाई काम गर्न दिइएको छैन्, यो कांग्रेसको बहमतको सरकार भन्ने सोच उहाँहरुमा देखियो ।’
सरकारको विकल्प सोच्नुअघि कांग्रेस नेतृत्व र प्रधानमन्त्रीसँग अलि मज्जाले नै कुराकानी गर्ने एमाले नेताहरुले बताएका छन् । गत साता प्रधानमन्त्रीसँग कुरा गर्न अध्यक्ष ओली बालुवाटार पुगे पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका कारण खास कुरा नगरी फर्किएका थिए ।

ओलीले सरकार कांग्रेसको एकलौटीजस्तो भएको र एमालेका मन्त्रीहरुका काममा अत्तो थापेको बताएपछि कोइरालाले पछिल्लो क्याबिनेटमा केही निर्णय गर्न खोजेजस्तो देखिए पनि सोच र शैलीमा परिवर्तन आएको छैन ।

यसबीचमा एमाओवादी र अन्य विपक्षी तथा सत्तारुढ दलका नेताहरुले पनि कोइरालाबाट सरकार नचल्ने भन्दै अब कोइरालामात्र होइन कांग्रेसकै विकल्प खोज्न एमाले नेतृत्वलाई आग्रह गरेका छन् ।
उच्च स्रोतका अनुसार एमाले शीर्ष नेताहरुबीच पनि यसबारे छलफल भएपछि सबैतिरबाट घेराबन्दीमा परेको महसुस कोइरालाले गरेका छन् । स्रोतका अनुसार एमालेका वरिष्ठ नेता झलनाथ खनाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई प्रधानमन्त्री बनाउनका लागि छलफलमै जुटेका छन् ।

यसबीचमा सरकारका बारेमा छलफल हुँदा ओलीलाई प्रधानमन्त्री बन्ने वातावरण बनाउन माधव नेपालले चाहेको संकेत देखिएको एक नेताले बताए ।
ओलीलाई प्रधानमन्त्री बनाउन पार्टीभित्रबाट मात्र होइन बाहिरबाट पनि वातावरण निर्माण गराउनेहरु सलबलाएका छन् । कांग्रेसभित्रै एउटा बलियो खेमा ओलीलाई प्रधानमन्त्री बनाउन चाहन्छ ।

सुशीललाई हटाएर देउवा वा रामचन्द्र प्रधानमन्त्री बन्ने अवस्था नरहेकाले तत्काल सुशीलको विकल्प ओली खडा गर्दा त्यसपछि आफ्नो पालो आउने उनीहरुको आँकलन छ ।
साँघु साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us