काठमाण्डु, २ भदौ– चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ हत्याविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजबाट बहस सुरु हुँदैछ ।

प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेपछि चरीका परिवार अदालत गएको हो । चरीका दाजु ध्रुव अधिकारीले दायर गरेको रिटमा प्रहरीलाई किटानी जाहेरी लिन परमादेश दिन माग गरिएको छ ।
रिटमा महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की, काठमाण्डु परिसरमै कार्यरत नायव उपरीक्षक मीरा चौधरी, निरीक्षक कुमुद ढुंगेल र चरीकी प्रमिका खुश्बु ओलीका पूर्वप्रेमी अर्पण कोइरालाविरुद्ध मुद्धा दायर गरिएको हो ।
बहसमा चरीका पक्षमा वरिष्ठ अधिवक्ता गोविन्द शर्मा पौडेल, पुष्पराज पौडेल, नारायण देवकोटा, अम्बर राउतलगायतले बहस गर्दैछन् ।
प्रहरीको फरार सूचीमा रहेका चरीको गत दुई साताअघि धादिङको सीमानामा पर्ने काठमाण्डुको भीमढुंगामा प्रहरीसँगको मुठभेडमा ज्यान गएको थियो । प्रहरीले पक्राउ गर्न खोज्दा गोली चलाएकाले जवाफी कारबाहीमा चरी मारिएको बताउँदै आएको छ ।
तर चरीका आफन्तले प्रहरीको दाबी अस्वीकार गर्दै पक्राउ गरेर हत्या गरिएको दाबी गर्दै आएको छ ।