काठमाण्डु, १८ साउन– चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको आरोपको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्वीकार गरेका छन ।
आज शुक्रबारको अर्थ समितिको बैठकमा सत्ता साझेदार दलका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नै घुमाउरो पारामा राष्ट्र बैंकमाथि अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयको दबाब परेको बताए पछि अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।
बैठकमा पूर्वअर्थमन्त्री महतले सरकारकै दबाबमा गभर्नरले अनावश्यक खुकुलो मौद्रिक नीति ल्याएको बताएका थिए । डा. महतले अर्थमन्त्री पौडेललाई व्यङ्ग्य समेत गर्दै वर्तमान अर्थमन्त्री र गभर्नर महाप्रसाद अधिकारीको ट्युनिङ मिलेको आरोप लगाएका थिए ।
तर, प्रतिउत्तरमा अर्थमन्त्री पौडेलले यो वा त्यो मुद्दामा नभई सरकारको नीति अनुसार आर्थिक गतिशीलताका लागि स्वच्छ नियतका साथ ट्युनिङ मिल्नु राम्रो रहेको बताएका हुन ।
उनले भने, ‘सरकारले गभर्नर वा राष्ट्र बैंकमाथि यो गर, त्यो गर भन्न मिल्दैन । तर राम्रो काम र मुद्दामा ट्युनिङ मिल्नु राम्रो हो, । सार्वजनिक ऋण र खर्चको सवालमा सरकार अत्यन्त अनुशासित हुने अर्थमन्त्री पौडेलले प्रतिबद्धता जनाएका छन ।