काठमाण्डु, १७ साउन– गत २८ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्याक्ष केपी शर्मा ओलीले गत ७ साउनमा प्रतिनिधि सभाबाट विश्वासको मत लिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्मा दुई तिहाईको विश्वासको मत प्राप्त गरे । स्थिरताको लागि गठन भएको सरकारलाई यो हदको समर्थन प्राप्त हुँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देखाएको व्यवहार भने चर्चाको विषय बन्यो ।
१८ महिनाअघि सम्पन्न संसदीय निर्वाचन पछि ३२ सिटमा खुम्चेर राजनीतिको ओरालो यात्रामा रहनु भएका दाहाललाई प्रधानमन्त्री ओलीले बोलकोटको बार्दलीमा स्वागत गरेर प्रधानमन्त्री बन्ने बाटो खोलिदिए , जुन पद कांग्रेस सभापति शेरबहादुर देउवाको पोल्टामा पुगिसकेको थियो । हाल मौका पर्दा प्रचण्डले देखाएको व्यवहार ‘बैगुनी’ शैलीको रूपमा चर्चा सुरु भएको छ ।
गत आमनिर्वाचनमा कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी लगायतबाट नेकपा एमालेविरूद्ध कडा घेराबन्दी थियो । तर, दुरगामी चिन्तनका साथ नेपाली राजनीतिकमा अघि बढिरहनु भएका ओलीको नेतृत्वमा एमालेले त्यो घेराबन्दीलाई चिर्दै संसद्मा दोस्रो दल बन्न सफल भयो ।
कांग्रेसको सँग गठबन्धगरेर निर्वाचनमा गएका माओवादी केन्द्रले ३२ सिट र राष्ट्रिय पार्टी पनि हुन नसकेको एकीकृत समाजवादीले १० सिटे हैसियत बनायो । एमाले विभाजन गर्दा २३ संसद सहित विभाजन गरेका नेपालले मात्रै २० सिटमा उम्मेदवारी दर्ता गराएका थिए । १० सिटमा मात्रै विजयी भयो । यता समानुपातिकबाट भने राष्ट्रिय पार्टी बन्न सकेन ।
त्यसपछि संसद्को सबैभन्दा ठूलो दल बनेको कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बन्ने परिस्थिति निर्माण भइसकेको थियो । कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने अन्तिम परिस्थिति निर्माण भइसकेको अवस्थामा त्यो चक्रव्यूहलाई तोडेर कुशलतापूर्वक ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाइदिएको इतिहास घाम जतिकै छर्लङ्ग छ ।
ओलीले २०७९ साल पुस १० गतेको चिसो मौसममा बनाइदिएको जगमा टेकेर प्रचण्डले करिब १८ महिना काँध फेर्दै भएपनि सत्तारोहण गर्ने अवसर पप्त गरेका थिए । तर, सत्तामा पुगेपछि गुन लाउनेहरु प्रति प्रचण्ड बैगुनी देखिनुभयो । कहिले ओलीको काँध चढेर सत्ता चाख्ने, कहिले देउवाको भरमा सर्वशक्तिमानको अहङ्कार पाल्ने प्रचण्डका क्रियाकलापहरु क्रमशः सतहमा देखा पर्दै जान थाले । फलतस् प्रचण्डको काँध फेर्ने व्यहारले हैरान हुनु भएका ओली र देउवा एकठाउँमा आउने परिस्थिति बन्यो र संविधान संशोधनसहितको सात बुँदे सहमति गर्दै राजनीतिक स्थिरतासहितको एमाले–कांग्रेस गठबन्धन बनेको गठबन्धन दलका नेताहरुको प्रतिक्रिया छ । इतिहास साक्षी छ, प्रचण्डलाई १८ महिने सत्तारोहणका लागि कांग्रेस र एमालेले पालैपालो योगदान दिएका छन् ।
यो तथ्यलाई हेर्ने हो भने एमाले र कांग्रेसबीच बनेको यो गठबन्धनलाई स्वागत गर्दै प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने थियो । सत्ता गुमेको झोँकमा प्रचण्डले राजीनामा नदिए पनि विश्वासको मत प्रकरणसम्म आइपुग्दा उहाँले राष्ट्रिय स्वरुपको बन्दै गएको ओली सरकारलाई समर्थन गर्ने जनअपेक्षा थियो ।
तर, सत्ता गुमेपछि हिंस्रक बाघ जस्तो बन्नु भएको प्रचण्डले कहिले संविधानको धारा ७६ को (३) तथा कहिले सात बुँदे सहमतिलाई मध्यरातिको रहस्यमय मस्यौदा भन्दै मुलुकलाई नयाँ दिशा दिने अवसरबाट आफूलाई बञ्चित गर्नु भएको छ । त्यसो त प्रचण्डको इतिहास हेर्ने हो भने उहाँले ओलीलाई खुला हृदयले साथ दिएको कहिल्यै पाइँदैन ।
२०७४ सालको संसदीय आमनिर्वाचनमा माओवादी ओरालो यात्राले संकटपूर्ण अवस्थामा पुगेको थियो । त्यो बेला २५ देखि ३० प्रतिशत हैसियतमा रहेको एमालेमा पार्टीमा असहमतिका बीचमा पनि माओवादीलाई ४० प्रतिशत सिट दिएर प्रत्यक्ष निर्वाचनमासँगै अगाडि लएका थिए ।
त्यही अवसरमा प्राप्त ४० प्रतिशत सिटको जगमा एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपाको समेत जन्म भयो । तर, ओलीकै सदासयतामा आफू एमाले जस्तो सांगठनिक रुपमा मजवुत पार्टीको दोस्रो अध्यक्ष बनेको तथ्य प्रचण्डले बिर्सए ।
र, एमालेको नेतृत्व गर्न नपाएर कुष्ठाग्रस्त बन्नु भएका एमालेका अर्का नेता माधवकुमार नेपालको वैशाखी टेकेर प्रचण्डले झण्डै दुई तिहाई नजिकको नेकपा सरकार ढालेर परमादेशमार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । यसले पनि प्रचण्ड ओलीको उदयमा कहिल्यै खुशी नहुने नेताका रुपमा दर्ज हुनु भएको छ । आइतबार भएको विश्वासको मतमा प्रचण्डले समर्थन गर्नु भएको भए इतिहासमा ओली विरुद्ध प्रचण्डले रच्नु भएको षड्यन्त्र जनताले बिर्सने थिए होलान् ।