काठमाण्डु, १७ साउन– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षराजेन्द्र लिङ्देनले कांग्रेस–एमालेले बहुदलीय व्यवस्था समाप्त पार्न खोजेको आरोप लगाएका छन ।
काठमाण्डु बिहीबार सुरु भएको पार्टीका जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान खोजेको आरोप लगाएका छन । उनले भने, ‘००७ सालको आन्दोलनमा पनि हाम्रो भूमिका थियो, ०४६ सालको पनि हामीले गरेका हौं र ०६२–६३ को पनि हामीले गरेका हौं भनेर डंगा पिट्ने र हामी विना आन्दोलन, परिवर्तन सम्भव थिएन भन्ने कांग्रेस–कम्युनिस्ट पार्टीहरुबाटै प्रजातन्त्र, बहुदलीय व्यवस्था र समानुपातिक समावेशीता धरापमा परेको छ ।’
कांग्रेस र एमालेले बहुदलीय व्यवस्था समाप्त पारेर दुई दलीय व्यवस्था स्थापना गर्ने कुरा बोल्न थालेको भन्दै उनले यो चिन्ताको विषय भएको पनि बताएका छन । उनले भनेअरु दलहरु, नागरिक समाज सबैले यत्रो खबरदारी गर्दा त कांग्रेस– एमालेको यो प्रकारको बिगबिगी छ, कांग्रेस–एमाले मात्र भयो भने यो देश कस्तो हुन्छ होला ? ।’
अध्यक्ष लिङ्देनले अधिनायकवादी सर्वसत्तावादी सोचको विरुद्धमा उभिने जिम्मेवारी राप्रपाको काँधधमा आएको पनि बताएका छन । उनले पार्टीको आधार भनेको जिल्ला, क्षेत्र र स्थानीय तह नै हो भन्दै केन्द्रबाट हुने घोषणा र निर्णयले पार्टी बलियो हुन नसक्ने धारणा व्यक्त गरेका छन ।