काठमाण्डु, १७ साउन– काठमाण्डुको सरस्वती क्याम्पसमा चीट चोर्नु नदिएको भन्दै विद्यार्थीले शिक्षकमाथि हातपात तथा दुर्व्यवहार गरेको छ । स्नातकोत्तर तहको परीक्षा भइरहेको बेला विद्यार्थीलाई चिट चोर्न नदिएको भन्दै हातपात तथा दुर्व्यवहार भएको हो ।
चार जना विद्यार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिका राखेर आफूले लेखेको उत्तरपुस्तिका लान लाग्दा पक्राउ परेपछि विद्यार्थीले शिक्षकमाथि हातपात तथा दुर्व्यवहार गरेको क्याम्पस प्रमुख गोलमान गुरुङले जानकारी दिएका छन ।
उनले भने, ‘हामीले चार जनाले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिका राखेर आफुसँग भएको उत्तरपुस्तिका लान लाग्दा पक्राउ गरिएपछि शिक्षक माथि दुर्व्यवहार गरे, ‘तर उल्टै उनीहरुले बाहिरबाट ल्याएको उत्तरपुस्तिका ४० वटा रहेको मध्ये चार वटा मात्रै पक्राउ गरेको भनेर आरोप लगाइरहेका छन् ।’ उनीहरुले क्याम्पस प्रमुख गुरुङमाथि समेत दुर्व्यवहार गरेका छन् ।
मंगलबार भएको यो घटनामा संलग्नहरु विभिन्न विद्यार्थी संगठनमा आवद्ध रहेका छन् ।क्याम्पस प्रमुखको भनाइ अनुसार दुर्व्यवहार गर्नेहरु क्याम्पसका पूर्व विद्यार्थीहरु समेत रहेको र क्याम्पसमा आइरहने गरेको उनले बताएका छन ।