यी हुन् झोलामा पार्टी कार्यालय भएका दल

काठमाण्डु टुडे २०७१ भदौ २ गते २:१९ मा प्रकाशित

काठमाण्डु, २ भदौ– संविधानसभा निर्वाचनमा केन्द्रीय कार्यालय खोलेर प्रचार–प्रसारमा लागेका अधिकांश साना दलले पराजित भएपछि पार्टी कार्यालय झोलामा सीमित गरेका छन् । संविधानसभामा प्रतिनिधित्व गरेका केही दलले पनि झोलामै पार्टी कार्यालय चलाएका छन् ।
संविधानसभामा प्रतिनिधित्व गरेका दलले सिंहदरबारभित्रै संसदीय दलको कार्यालय राख्ने सुविधा पाउँछन् । संसदीय दलको कार्यालयको भाडा तिर्नुपर्दैन । सिंहदरबारस्थित संसदीय दलको कार्यालयलाई अध्यक्ष यशोदा लामाले पार्टी कार्यालय बनाएकी छन् ।

दलित जनजाती पार्टी नेपाल संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ औं दल हो । विश्वेन्द्र पाशवान नेतृत्वको दलित जनजाति पार्टीबाट केही समयअघि फुटेर सो पार्टी गठन भएको हो ।
‘हाम्रो पार्टी नयाँ हो । अहिले तत्काल यसको कार्यालय छैन । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयलाई नै प्रयोग गर्ने गरेको छु । केही दिनपछि पार्टी कार्यालय खोल्ने सोचाइमा छु’ लामाले भनिन् ।

दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले पनि पार्टी कार्यालय छुट्टै राखेका छैनन् । गौशाला पिंगलास्थित आफ्नै निवासलाई  उनले पार्टी कार्यालयका रुपमा प्रयोग गरेका छन् । निर्वाचनअघि उनले सइनबोर्ड राखेका थिए । तर अहिले सइनबोर्ड हटाएका छन् । सो पार्टीबाट संविधानसभामा एक सभासद् छन् ।
संविधानसभामा एक सभासद् रहेको संघीय लोकतान्त्रिक राट्रिय मञ्च ९थरुहट० को पनि आफ्नै पार्टी कार्यालय छैन ।
त्यसैगरी पार्टी कार्यालय नभएका अन्य पार्टीमा सरिता गिरीले नेतृत्व गरेको सद्भावना पार्टी पनि पर्छ । केही दिनअघिसम्म सो पार्टीको पार्टी कार्यालय भए पनि अहिले यसको पार्टी कार्यालय छैन ।

श्यामसुन्दर गुप्ताका छोरा भाष्कर गुप्ता नेतृत्वको नेपाल सद्भावना पार्टी ९युनाइटेड० को कार्यालय पनि झोलामै सीमति छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us