सेयर बजारमा नयाँ रेकर्ड, झन्डै २२ अर्बको कारोबार

काठमाण्डु टुडे २०८१ साउन १६ गते १५:५४ मा प्रकाशित

काठमाण्डु, १६ साउन– सताको कारोबारको चौथो दिन आज बुधबार सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको छ । यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो । अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको हो ।

बुधबार सेयर बजारको परिसूचक नेप्से ६४.२५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७६०.९० अंकमा कायम भएको छ । १९१ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ७ को स्थिर रह्यो ।

सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा ब्यापार समूह २.७ प्रतिशत बढे ।

होटल तथा पर्यटन समूहको सूचक पनि हालसम्मकै उच्च भएको छ । यस दिन १४ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी, नेपाल रिपब्लिक मिडिया, कुथेली बुकरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ, प्रोग्रेसिभ फाइनान्स, ओरियन्टल होटल, समृद्धि फाइनान्स, मल्टिपर्पस फाइनान्स र फस्र्ट माइक्रोफाइनान्सको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us