नुवाकोट, १ भदाै – नुवाकोटको प्रमुख धार्मिक स्थल भैरवी मन्दिरमा शनिबार राती चोरी भएको छ । नुवाकोट दरवार क्षेत्रमा रहेको भैरवी मन्दिरको ढोका फोरेर भैरवीको मुर्ति र देवीको गहनाहरु चोरी भएको हो ।
मन्दिरमा रहेको एक थान भैरवीको मुर्ति, मुर्तिमा लगाएको चाँदीको सिक्री, मुकुट, एउटा दान वाकस दुई थान भोटे ताल्चा चोरी भएको प्रहरीले जनाएको छ ।
आइतबार विहान मन्दिरमा नियमित पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएको मन्दिरमा पूजारी हरिमानसिंह डंगोलले जानकारी दिए। मन्दिरमा रहेको अष्टमात्रिका र गणहरुको १२ वटा मुर्तिहरु मध्ये मुख्य भैरवीको मूर्ति चोरी भएको हो ।
चोरी भएको मूर्ति २०५८ सालमा निर्माण गरी राखिएको हो । दरवार क्षेत्र सुरक्षार्थ खटिएको फष्ट रैफल गणको टुकडी र नेपाल प्रहरीको चेकपोष्ट मन्दिर भन्दा ६० मिटर जति पर रहेको छ ।
सुरक्षा पोष्टहरुको नाकैबाट दुई दुई वटा ताल्चा फुटाएर चोरी हुँदा पनि सुरक्षाकर्मीले पत्तो नपाएको भन्दा स्थानीयले आलोचना गरेका छन् ।
करिब चार सय वर्ष पुरानो यो मन्दिर नेपालको शक्तिपीठ मध्ये एक हो । प्रहरीले खोजी कार्य सुरु गरेपनि अहिलेसम्म केही पत्ता लागेको छैन ।