जलविद्युत, सोलार र सिमेन्ट उद्योगमा पौने ३ खर्ब लगानी स्वीकृत

काठमाण्डु टुडे २०८१ साउन १० गते २१:१० मा प्रकाशित

काठमाण्डु, १० साउन– लगानी बोर्ड नेपालले आर्थिक वर्ष २०८०/८१ मा जलविद्युत, सोलार र सिमेन्टसम्बन्धी विभिन्न ९ परियोजनाका लागि दुई खर्ब ७१ अर्ब २६ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टले त्यससम्बन्धी प्रतिवेदन बिहीबार प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका छन् ।

बोर्डले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि एक खर्ब ६२ अर्ब ४९ करोड, २ सय ५० मेगावाटको कोहलपुर तथा वाणगंगा सौर्य ऊर्जा परियोजनाका लागि २१ अर्ब १० करोड, १ सय ६६ मेगावाटको सुपर तमोरका लागि ३४ अर्ब ५९ करोड, ६३ मेगावाटको छुजुंग खोला जलविद्युत परियोजनाका लागि ९ अर्ब ३० करोड लगानी स्वीकृत गरेको छ ।

यस्तै ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाका लागि ९ अर्ब ६८ करोड, ४४.५२ मेगावाटको सानी भेरी जलविद्युत परियोजनाका लागि ९ अर्ब ४६ करोड, ४२ मेगावाटको अपर मोदी एका लागि १० अर्ब ८ करोड र २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत परियोजना लागि सात अर्ब ९३ करोड रूपैयाँ लगानी स्वीकृत भएको छ ।

बोर्डका सिइओ भट्टले सिमेन्ट उद्योगका लागि ६ अर्ब ६३ करोड लगानी स्वीकृत भएको जानकारी दिए ।

उनका अनुसार बोर्डको समन्वयमा अरूण तेस्रो जलविद्युत परियोजनाको हेडरेस टनेलको ‘ब्रेकथ्रु’ भई उक्त परियोजनाको उत्पादनतर्फ ७५ प्रतिशत बढी निर्माण सकिएको छ । ट्रान्समिसन लाइनतर्फ ३८.२१ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

तल्लो अरूण जलविद्युत परियोजनाका जग्गा प्राप्तिको काम सुरू गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजनाको निर्माणको कार्य तीव्र गतिमा अगाडि बढेको छ ।

अपर मर्स्याङ्दी–२ जलविद्युत परियोजना, सौर्य ऊर्जा परियोजना ९२५० मेगावाट कोहलपुर र वाणगंगा) र दमक क्लीन इन्डस्ट्रियल पार्कको सम्बन्धमा भने परियोजना विकास सम्झौताको मस्यौदा तयार गरी विकासकर्तासँग वार्ताको चरणमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us