बर्दिया, १ भदौ – उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले बाढीपहिरो पीडितहरुको उद्धार र राहत वितरणमा सरकारले सक्रिय भूमिका निभाउन नसकेको स्वीरकारेका छन् ।
बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि बर्दिया पुगेका गृहमन्त्रीले प्राविधिक कठिनाईका कारण चाहदाचाहदै पनि सरकारको उपस्थिती न्युन रहेको बताएका हुन् ।
गौतम बुद्ध एयरको बिहान नौ बजेको उडानबाट त्यसतर्फ गएका हुन् । गौतमले बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत र उद्धारकार्यको निरीक्षणका साथै पीडित परिवारसँग भेटघाट गरेको उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए ।
गौतमले जिल्लास्थित सुरक्षा निकाय र स्थानीय प्रशासनलाई राहत तथा उद्धारको काम छिटो गर्न निर्देशन दिएका सुवेदीले दिए ।
गुलरिया, राजापुर, पदनाह र बगनाह लगायतका ठाउमा शिबिर खडा गरेर उद्दार र राहतमा जुट्नुस, स्वागतका लागि राझा एअरपोर्टमा उपस्थित प्रशासनका अधिकारी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका अधिकारीलाई गृहमन्त्री गौतमले भने, ‘बाढी नपस्ने अग्ला स्थान अथवा खाली गोदामघर र सिनेमाघर लगायतका ठाउँ हेरेर तत्काल शिबिर खडा गरी खानाको प्रबन्ध मिलाउनूस् ।’