विश्वका १७० देशसँग नेपालको व्यापार, अधिकांश मुलुकसँग व्यापार घाटा

काठमाण्डु टुडे २०८१ साउन ७ गते १७:१२ मा प्रकाशित

काठमाण्डु, ७ साउन– आर्थिक वर्ष ८० ८१ मा नेपालले विश्वका १७० वटा मुलुकसँग वैदेशिक व्यापार गरेको छ । नेपालले विश्वभरका १७० मुलुकसँग वैदेशिक व्यापार (वस्तु किनबेच) गरेको तथ्याङ्कमा उल्लेख गरीएको छ । तर, नेपालले वैदेशिक व्यापारको सम्बन्ध स्थापित गरेको सबैजसो मुलुकसँग व्यापार घाटामा रहेको छ ।

आर्थिक वर्ष ०८०–८१ मा नेपालको कूल १५ खर्ब ९२ अर्ब रुपैयाँको आयात १७० वटा मुलुकसँगको सम्बन्धबाट भएको हो । यस्तै यिनै मुलुकमध्ये केही मुलुकलाई नै नेपालबाट १ खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको तथ्याङ्कमा उल्लेख गरीएको छ । १७० मध्ये ३९ वटा मुलुकमा नेपालतर्फको निर्यात शून्य रहेको छ ।

यस्तै थप १० वटा मुलुकसँगको वैदेशिक व्यापारमा १ लाख रुपैयाँभन्दा न्यूनको निर्यात रहेको छ । तर, नेपालको व्यापार सम्बन्ध स्थापित सबैजसो मुलुकबाट नेपालमा वस्तु आयात भएको तथ्याङ्क छ । तीमध्ये ३५ वटा देशससँगको व्यापारमा मात्रै नेपाल नाफामा छ । बाँकी सबै देशसँगको व्यापारमा नेपाल घाटामा रहेको छ ।

नेपालले सबैभन्दा बढी व्यापार घाटा बेहोर्ने मुलुकको सूचीमा दक्षिण र उत्तरी छिमेकी देश छन् । भारतसँग २०८०र८१ मा ८ खर्ब ९३ अर्ब रुपैयाँको व्यापार घाटा नेपालले बेहोरेको छ । यसबाहेक चीनसँग २ खर्ब ९६ अर्ब रुपैयाँ व्यापार घाटामा रहेको छ । व्यापार नाफा भएका मुलुकमध्ये अफगानिस्तानसँग ४६ करोड ६० लाख रुपैयाँ नाफा छ ।

यसपछि आन्टिगुवा एन्ड बारबुडासँग ७ लाख ६७ हजार नाफा छ । यसबाहेक आर्बुवासँग २५ लाख, बाहामाससँग १५ लाख १६ हजार, बर्मुडासँग १० लाख रुपैयाँ नाफा छ ।

यी बाहेक सबैजसो देशसँग नेपालको व्यापार नाफा लाख वा मुस्किलले करोडमा छ । अधिकांश देशसँग व्यापार घाटा र नाफा भएका मुलुकसँग पनि न्यून मात्रामा हुँदा कूल व्यापार घाटा १४ खर्ब ४० अर्ब पुगेको हो । नेपालबाट भएको कूल निर्यात नै १ खर्ब ५७ अर्ब रुपैयाँ छ । जबकि, विदेशबाट नेपाल आउने वस्तुका लागि वार्षिक १५ खर्ब ९२ अर्ब रुपैयाँ बाहिरिने गरेको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us