तीन पटक २५०० नाघेको सेयर बजार २४८८ मा रोकियो

काठमाण्डु टुडे २०८१ साउन ७ गते १५:५० मा प्रकाशित

काठमाण्डु, ७ साउन– साताको दोस्रो दिन आज (सोमबार) दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा रह्यो । कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक २५०४ अंकमा पुग्यो, तर टिक्न सकेन ।

११ः १४ मा २४६४ अंकमा झरेको बजार ११ः २४ बजे नै २५०१ मा पुग्यो, तर दोस्रो पटक पनि टिक्न सकेन । सवा १२ बजेतिर २४४२ अंकमा झर्‍यो । २ः २७ बजे २५०१ अंकमा पुगे पनि टिक्न सकेन ।

अन्ततः बजार २४८८ अंकमा बन्द भयो, जुन अघिल्लो दिनको तुलनामा २.१५ अंक बढी हो । तीव्र उतारचढावका बीच बढेरै बजार बन्द भयो । कारोबार रकम केही घटेको छ ।

अघिल्लो दिन १५ अर्ब नाघेको कारोबार आज १३ अर्ब ९१ करोडमा खुम्चियो । ११५ कम्पनीको मूल्य बढ्दा १२१ को घटेको छ भने ६ को स्थिर रह्यो । बैंकिङ १७, विकास बैंक ३१, होटल तथा पर्यटन १४, माइक्रोफाइनान्स २८ र निर्जीवन बीमा समूह ८ अंक घटे ।

फाइनान्स २०, हाइड्रोपावर ५२, उत्पादन १६०, अन्य २६, व्यापार ६७ अंक बढे । प्रतिशतका आधारमा उत्पादन समूह सबैभन्दा धेरै २.१६ प्रतिशत बढ्यो भने बैंकिङ १.२३ प्रतिशत घट्यो । मुक्तिनाथ कृषि कम्पनीको १० प्रतिशत मूल्य बढ्यो ।

नेपाल फाइनान्सको ८.६, छ्याङदी हाइड्रोपावरको ७।९ तथा बलेफी हाइड्रोको ६.८ प्रतिशत बढ्यो । गणपति लघुवित्तको ९.९, सिक्लेस हाइड्रोपावरको ८.६, जनउत्थान सामुदायिक लघुवित्तको ३।९ प्रतिशत मूल्य घट्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us