
काठमाण्डु, ६ साउन– विद्युत नियमन आयोगले उद्योगमा काटिएको विद्युत लाइन तत्काल जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।
आयोगले आइतबार प्राधिकरणलाई ६ उद्योगमा काटिएको विद्युत तत्काल विद्युत सुचारु गर्न निर्देशन दिएको हो ।
विद्युत् वितरणकर्ता र ग्राहकबीच विवाद भएको अवस्थामा विवाद समाधान हुनुअघि विद्युत् विच्छेद गर्नु गैरकानुनी हुने तर्क आयोगको छ । आयोग अध्यक्ष रामप्रसाद धितालले विद्युत विच्छेद भएको भन्दै आयोगको उपभोक्ता हित संरक्षण सम्बन्धीनिर्देशिका २०८० को दफा (१३) बमोजिम ग्राहकले गुनासो गरेकाले त्यसका आधारमा लाइन जोडिदिन लिखित निर्देशन दिएका हुन् ।
डेडिकेटेड र ट्रंक लाइनको विद्युत उपभोग गरेबापत उद्योगीले महसुल नतिरेको भन्दै प्राधिकरणले केही समयअघि लाइन काटेको थियो ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने पैसा नतिरेका कारण लाइट काटिएको भन्दै अडान लिएका छन् । संसदीय समिति, नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय र विद्युत प्राधिकरण सञ्चालक समितिको निर्णयका आधारमा पटकपटक ताकेता गर्दा पनि महसुल नतिरेका कारण प्रक्रिया पूरा गरेर लाइट काटिएको तर्क उनको छ ।
यसअघि प्रधानमन्त्री केपी ओलीले पनि घिसिङलाई शुक्रबार बोलाएर तत्काल लाइन जोडेर बाँकी विषयमा कुरा गर्न निर्देशन दिएका थिए ।