राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान, ओली प्रधानमन्त्री पक्का

काठमाण्डु टुडे २०८१ असार २८ गते २०:५० मा प्रकाशित

काठमाण्डु, २८ असार– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेर पदमुक्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

नयाँ सरकार गठनका लागि आइतबार साँचm ५ बजेसम्म दाबी पेस गर्न राष्ट्रपतिले दलहरुलाई समय दिएका छन् ।

‘२०७९ पुस १० गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधिसभाबाट विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी मिति २०८१/३/३० गते आइतबार अपरान्ह ५ः ०० बजे भित्र पेस गर्न आह्वान भएको छ’, राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

योसँगै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने पक्काजस्तै भएको छ । प्रतिनिधिसभाका दुई ठूला दल काँग्रेस र एमालेले पहिलो चरणमा ओलीको नेतृत्वमा र दोश्रो चरणमा काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका छन् ।

ओलीलाई माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीबाहेक संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलको समर्थन छ । प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा १ सय ९४ मत परेको थियो । ओलीलाई प्रधानमन्त्रीमा उक्त संख्याको समर्थन हुने देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us