काठमाण्डु, २८ असार– कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डमा प्रमुख प्रतिपक्षी चरित्र देखिएको टिप्पणी गरेका छन् ।
शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रचण्डले सत्ताबाट बाहिरिनुपर्दाको पीडा पोखेको उनले बताए । पीडा र आक्रोशमा रहेका बेला प्रचण्डमाथि थप टिप्पणी गरेर पीडा दिन आफू इच्छुक नरहेको उनको भनाइ थियो ।
उनले काँग्रेस र एमाले मिल्दा संसदमा प्रतिपक्ष कमजोर हुने र त्यसले लोकतन्त्र कमजोर बनाउने चिन्ता व्यक्त गरेको चर्चा गर्दै प्रचण्डको अभिव्यक्तिले प्रतिपक्ष कमजोर हुँदैन भन्ने सन्देश दिएको उल्लेख गरे ।
‘आज सम्माननीय प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा रोष्टममा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठीक नेताका रुपमा देखिसकेको हुँदा अब संसदमा प्रतिपक्ष कमजोर हुन्न कि भन्ने लाग्छ’, उनले भने ।
लेखकले प्रचण्डलाई प्रधानमन्त्रीभन्दा प्रतिपक्षको भूमिका सुहाउने भन्दै विगतको भूमिका ठीक नभएको हो कि भन्ने महसुस भएको बताए ।
‘यस्तो जबर्जस्त प्रतिपक्ष दलका नेता हुनसक्ने व्यक्तिलाई लामो समय प्रधानमन्त्री बनाएर हामीले हिजो अस्ती प्रतिपक्षलाई कमजोर गर्यौं कि ?’, उनले भने ।