काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सुशासन र भ्रष्टाचारविरोधी अभियान र आर्थिक सुधारका कारण आफू विश्वासको मत पाउन हकदार रहेको बताए ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले आफूले गरेका काम र चालेको कदमले विश्वासको मत पाउन हकदार गरेको बताए । एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै उनले यति, ओम्नी र गिरिबन्धुहरुको बोझ र कलंक नबोकेर पनि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने स्थापित गर्न आफू सफल रहेको उल्लेख गरे ।
‘कुनै यति, कुनै ओम्नी, कुनै गिरीबन्धुहरुको बोझ र कलंक नबोकी पनि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने रेकर्ड बन्यो’, ओलीतर्फ हेर्दै उनले भने, ‘ एउटा तप्काले देशको जग्गा लुटे पनि हुने भयो । तस्करी गरेर कानून मिचे पनि हुने भयो । यसले लोकतन्त्रमाथि नै प्रश्न उठाइसकेको थियो । त्यो भाष्य चिरेको छ ।’
ललिता निवासको सरकारी जमिन अतिक्रमण, भुटानी शरणार्थी प्रकरण, बाँसबारीदेखि बाल मन्दिरसम्मको जग्गा खोज्न थालेपछि त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलाएको प्रचण्डले बताए । प्रचण्डको यो भनाइ सुन्दा ओलीले शिर झुकाएका थिए ।