काँग्रेस–एमालेप्रति प्रचण्डको आक्रामक प्रश्नः कसका घरमा र कुन समयमा बन्द कोठामा सहमति गर्नुभयो ?

काठमाण्डु टुडे २०८१ असार २८ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमालेलाई विश्वास र आदर्शले नभई सुशासनको त्रासले जोडरले जोडेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै कांग्रेस र एमालेबीचको सहमतिप्रति तीव्र आपत्ति जनाए । ‘नाटकीय घटनाक्रमबाट पहिलो र दोस्रो ठूलो दललाई विश्वास र आदर्शले वा निश्चित उद्देश्यले जोडेको भए मेरो लागि चिन्ताको विषय हुने थिएन । तपाईंहरुलाई डरले जोड्यो । भयले जोड्यो । त्यो डर हो, सुशासनको डर । सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले जोडेको हुनाले जे कारणले एमाले र कांग्रेस मिल्न खोज्नुभएको छ, तपाईँहरूको सहकार्यलाई जनताले अनुमोदन गरेका छन् कि छैनन् ?’, उनले प्रश्न गरे ।

प्रधानमन्त्रीले आफूलाई प्रतिगमन र निरंकुशताको चिन्ता रहेको बताए । सामान्यत लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरु मिलेर सरकार नबनाउने उनको भनाइ थियो । ‘अमेरिका, बेलायत र भारतमा कहिल्यै प्रमुख प्रतिस्पर्धी दलहरु मिलेर सरकार बनाएका छन् । पहिलो र दोस्रो मिल्दा लोकतन्त्र कमजोर र निरंकुशतालाई प्रश्रय मिल्छ । यहाँ त कांग्र्रेस र एमाले मिलेर रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ । तपाईँहरूको यात्रा प्रतिगमनतिर हो भन्ने सहमति गर्ने तरिका, कसका घरमा सहमति गर्नुभयो, हस्ताक्षर कसका घरमा गर्नुभयो, समय कुन रोज्नुभयो भन्नेबाटै थाहा हुन्छ । जनताले हिसाब राखेका छन् । नियत सफा भए बन्द कोठा चाहिन्छ ? अन्धकार चाहिन्छ ? मैले सबै भनेँ भने तपाईंहरुलार्ई लाज लाग्छ भन्ने मलाई डर छ । कतिसम्म झूट बोल्न । सकेको ?’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us