काठमाण्डु, २८ असार– एमाले सांसद दामौदर बैरागी पौडेलले नारायणगढ–मुग्लिन खण्डमा पहिरोले दुईवटा बस पुरिँदा बेपत्ता भएकाहरुलाई श्रद्धाञ्जली दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा शुक्रबार शून्य समयमा बोल्दै उनले बेपत्ता रहेकाहरुलाई श्रद्धाञ्जली दिए । बेपत्ताहरुको खोजीमा गोताखोर परिचालन गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यो समाचार तयार पार्दासम्म तीन जना पौडिएर ज्यान जोगाउन सफल भएको र ६२ यात्रु बेपत्ता रहेको बताए । उनले हराएकाहरु मृत्यु भएको भन्ने पुष्टि गर्न नसकिएको उल्लेख गरे ।
‘मुग्लिन–रानयराणगढ खण्डको त्रिशूलीमा दुईवटा बस खसेको छ । त्यहाँ सबैको मृत्यु भएको छ । त्यहाँ मृत्यु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु’, उनले भने ।
तर, सांसदजस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले स्वतन्त्र पुष्टिबिनै बेपत्ता यात्रुलाई श्रद्धाञ्जली दिने जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । बैरागी कास्की–३ बाट निर्वाचित भएका हुन् ।
नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार बिहान वीरगञ्जबाट काठमाण्डू आउँदै गरेको एन्जल डिलक्सको बस र काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बसलाई बिहान साढे तीन बजेतिर पहिरोले पुरेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनको प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार एन्जल यातायातमा २४ जना र गणपति डिलक्समा ४१ यात्रु सवार थिए ।