नागरिक उन्मुक्तिले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाण्डु टुडे २०८१ असार २६ गते १९:३९ मा प्रकाशित

काठमाण्डु, २६ असार– नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सो पार्टीको संसदीय दलका नेता गंगाराम डगौरा थारुले समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

यस्तै उनले आफूहरु काँग्रेस–एमाले गठबन्धनमा सामेल हुने पनि बताए । यसअघि एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।
उनका अनुसार २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णयसमेत उक्त दलले गरेको छ । ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीका बहुमत सदस्यले १७ असारमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर डगौरा थारुलाई दल नेता चयन गरेका थिए ।

पछिल्लो समय नागरिक उन्मुक्तिका संस्थापक संरक्षक रेशमलाल चौधरीको काँग्रेस सभापति शेरबहादुर देउवासँग बाक्लो भेटघाट हुँदै आएको थियो । सरकारका सहभागी हुँदा कुन गठबन्धनमा उभिने भन्ने विषयलाई लिएर नागरिक उन्मुक्तिमा लामो समयदेखि विवाद छ ।

रेशम पत्नी रञ्जिता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा यसअघि मन्त्री थिइन् । रञ्जिता फेरि मन्त्री बन्ने तयारी गरिरहँदा काँग्रेस–एमालेबीच १७ असारमा सत्ता गठबन्धनको सहमति भयो । सोही दिन उनलाई बहुमत सदस्यले दल नेताबाट समेत हटाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us