काठमाण्डु, २६ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट हटाइएका मुकुल ढकालले सो पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।
बुधबार आफ्ना धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा ढकालले सहकारी ठगी र दोहोरो राहदानी प्रकरणमा लामिछानेमाथि छानबिन र काबाही हुनुपर्ने बताए । रास्वपाले मंगलबार ढकाललाई अनुशासन उल्लंघन गरेको आरोपमा पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ढकालले अदालतले नै छानबिन गर्न आदेश गरिसकेकाले लामिछानेमाथि छानबिन हुनुपर्ने बताए ।
ढकालले १९ असारमा बसेको बैठकमा आफूले कालो टेप लगाएको विषयमा लामिछानेसँग पटकपटक छलफल गर्न खोज्दा उनले नचाहेको उल्लेख गरे । ‘सहकारी ठगी र दोहोरो राहदानीका विषयमा उच्चस्तरीय छानबिन हुनुपर्छ’, उनले भने, ‘यो पार्टीको राजनीतिक जीवनसँग जोडिएको विषय हो ।’
ढकालले आरोप प्रमाणित भए लामिछानेले आगामी निर्वाचनमा उम्मेदवार बन्नसमेत नपाउने बताए । फरक प्रसंगमा उनले आफूले जनताको आवाज बोलेका कारण कारबाही भोग्नुपरेको टिप्पणी गरे ।