काठमाण्डु, २६ असार– एमाले अध्यक्ष केपी ओलीले काँग्रेस र एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको प्रष्टीकरण दिएका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकमा ओलीले संविधानमा परिमार्जन र सुधार आवश्यक रहेको बताए । यद्यपि संविधानका कुनकुन धारा र प्रावधानमा संशोधन गर्ने सहमति नभएको दाबी उनको थियोे ।
यस्तै ओलीले कसैको नेतृत्वमा संविधान सुधार आयोग बनाउने पनि सहमति नभएको दाबी गरे । यसअघि एक पूर्वन्यायाधीशको नेतृत्वमा आयोग बनाउने सहमति भएको चर्चा चलेको थियो ।
काँग्रेस र एमालेबीच गत १७ असारको मध्यरातमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो । सहमतिअनुसार २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन असफल भए पहिलो चरणमा ओली प्रधानमन्त्री बन्नेछन् ।
ओलीले मुलुकमा अस्थिरता देखिएको तथा साना दलको बार्गेनिङ बढेकाले दुई ठूला दल मिलेको उल्लेख गरे । सहमति लगत्तै एमाले महासचिव शंकर पोखरेलले सत्ता समीकरणसहति संघीयता र निर्वाचन प्रणालीसम्बन्धी व्यवस्था परिवर्तनका लागि काँग्रेस र एमालेबीच सहमति भएको सार्वजनिक गरेका थिए ।