काठमाण्डु, २५ असार– कांग्रेसले प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति खोजेको छ ।
मंगलबार बसेको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशमा बाढी पहिरोका कारण जनधनको क्षति हुँदा पनि प्रधानमन्त्री र मन्त्री संसदमा आएर जानकारी गराउन माग गरेका हुन ।
उनले कञ्चनपुरमा बाढीका कारण विभिन्न प्रकारका घटना घटेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन । उनले भने, ‘कहाँ कति क्षति भएको छ पत्रिका पढेर थाहा पाउनु परेको छ, कमसेकम सरकारले यो सदनमा आएर देशभरिमा अविरल वर्षाका कारण बाढी पहिरो, डुबानका कारणले कति क्षति भयो, कति मानिस घाइते भए, कति मानिसको ज्यान गयो रु कति विस्थापित छन् ? घाइतेहरूको अवस्था के छ रु विस्थापित भएकाहरूलाई कसरी पुनर्स्थापित गर्ने भन्ने सम्मका कुरा सरकारले जानकारी गराएको छैन ।’
उनले थपे, ‘सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीज्यूहरूको उपस्थिति संसदमा भइरहेको छैन । हिजो पनि यहाँ साथीहरूले कुरा उठाउनुभयो, सरकार विश्वासको मत लिने तयारी गरिरहेको छ, संविधान अनुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठेको छ, त्यसमा कुनै द्विविधा छैन ।
सरकारले ३० दिन नै लिओस् । हिजो २८ गते विश्वासको मत लिन थोरै समय हुन्छ, त्यसमा पनि थप्दा भयो । त्यसमा आपत्ति छैन तर सरकार रहुन्जेल त सरकारका प्रति उत्तरदायी भइदिनुपर्यो, आइदिनुपर्यो । भनिदिनुपर्यो कति मानिसको मृत्यु भएको छ, कति घाइते भएका छन्, कतिको उपचार भइरहेको छ ? स्थिति के छ ?’