काठमाण्डु, २४ असार– कांग्रेस सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति नरहेको दाबी गरेका छन ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठक पछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद पौडेलले यस्तो बताएका हुन ।
उनले एमाले अध्यक्ष ओलीलाई दुई वटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्नेगरी काम गर्न आग्रह गरेका छन । उनले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तराद्र्धमा रहेको भन्दै देश र जनताको लागि काम गर्न आग्रह गरेका छन ।
उनले भने, ‘केपी ओलीज्युलाई दुई वटा अवसर प्राप्त भएको छ । दुई तिहाईको प्रधानमन्त्री हुनुभयो, त्यो भन्दाअघि पनि प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएर देशले के प्राप्त ग¥यो भनेर उहाँले गरेका राम्रा कामको सूचि बनाउनसक्ने स्थिति छैन । उहाँ जीवनको र राजनीतिको पनि उत्तराद्र्धमा हुनुहुन्छ ।
परिस्थितिले उहाँलाई फेरि नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ । झन्डै दुई तिहाईले समर्थन गरेको प्रधानमन्त्री उहाँ हुँदै हुनुहुन्छ । म के आग्रह गर्न चाहन्छु भने यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस् ।
गुटको लागि नहुनुस् । पछिल्लो पटक प्रधानमन्त्री हुँदा यो यो गर्नुभयो भनेर भन्नेसक्ने, थाहा पाउने गरी नेतृत्व गर्नुस् ।’