काठमाण्डु, २४ असार– राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेका छन् ।
जसपाका दुई मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपतिले सोमबार प्रधानमन्त्रीलाई नै रिक्त मन्त्रालयको कार्यभार तोकेका हुन । मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्यमन्त्री प्रदीप यादव र वनमन्त्री नवलकिशोर साहले पदबाट राजीनामा दिएका थिए ।
यस्तै स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि राजीनामा बुझाएकी थिइन् । उनीहरुको राजीनामासँगै प्रधानमन्त्रीकै सिफारिसमा उनीहरूले सम्हाल्दै आएको उक्त मन्त्रालयको कार्यभार स्वयम् प्रधानमन्त्रीले सम्हाल्ने गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यसअघि राजीनामा दिएका एमालेका ८ मन्त्रीले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीले सम्हाल्दै आएका छन् ।