एक वर्षपछि फरक भूगोलको जिम्मेवारीबाट फिर्ता हुँदै एमाले नेताहरू

काठमाण्डु टुडे २०८१ असार २४ गते १६:३९ मा प्रकाशित

काठमाण्डु, २४ असार– एमालेले नेताहरूको जिम्मेवारी हेरफेर र कार्य विभाजनमा पुनर्विचार गर्ने तयारी गरेको छ । पार्टी पदाधिकारी (उपाध्यक्ष, सचिव ) सहित स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्न लागेको एमाले स्रोतले जानकारी दिएको छ ।

‘एक वर्षअघि २०८० साल जेठमा बसेको केन्द्रीय सचिवालय बैठकले एक वर्षका लागि नेताहरूको अस्थायी कार्य विभाजन गरेको थियो । जे कामका लागि जिम्मेवारी विभाजन भएको थियो त्यो काम पनि र समय पनि पूरा भएकाले अब जिम्मेवारीमा पुनर्विचार हुन लागिएको एमाले केन्द्रीय सचिव पद्यमा अर्यालले जानकारी दिएकी छन ।

एमालेले २०८० साललाई प्रदेश, जिल्ला हुँदै वडा कमिटीहरूको अधिवेशन सम्पन्न गर्न अधिवेशन वर्षका रूपमा कार्यक्रमहरू सार्वजनिक गरेको थियो । सोही कार्यक्रम र योजनाअनुसार नेताहरूको जिम्मेवारी हेरफेर गरिएकोमा त्यो काम पूरा भएकाले जिम्मेवारी पूर्ववत अवस्थामा फर्काउन लागिएको सचिव अर्यालले जानकारी दिएकी छन ।

उनले भनिन्, ‘प्रदेशको अधिवेशन सकिएको छ, केही जिल्लाको जिल्ला अधिवेशन रोकिएबाहेक अरू काम सकिएको छ । त्यसैले अव फरक भूगोलको जिम्मेवारीमा रहिरहनेको खासै अर्थ छैन भन्ने निष्कर्ष छ ।’ एमालेले नेताहरूलाई अन्तर प्रदेश र अन्तर क्षेत्रका फरक फरक भूगोलमा नेताहरूको कार्यक्षेत्र रहनेगरी खटाएको थियो ।

जसअनुसार इन्चार्जहरूलाई अन्तर प्रदेश र जिल्ला इन्चार्जहरूलाई अन्तर जिल्ला इन्चार्जका रूपमा खटाएको थियो । त्यसैगरी केन्द्रीय सदस्यहरूलाई निर्वाचन क्षेत्र हुँदै पालिका तहसम्मको जिम्मेवारी दिइएको थियो । सधैँ अन्तरप्रदेश र अन्तर जिल्लाको जिम्मेवारी हुनुहुँदैन भनेर पुनर्विचार गर्न लागेको एमालेले जनाएको छ ।

यसअघि फरक भूगोलको जिम्मेवारी तोकिएकोमा केही नेताहरूले असन्तुष्टि समेत जनाएका थिए । एमालेले प्रदेश अधिवेशनहरू सकेपनि विवादका कारण बागमती र लुम्बिनीबाहेकका १२ वटा जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी नै रहेका छन् । ती अधिवेशनहरू आगामी मङ्सिर सम्ममा सक्ने एमाले नेताहरू बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us