मन्त्रीहरुले राजीनामा दिएको भए टोकन अफ लभ दिन्थे: मुख्यमन्त्री सिंहले

काठमाण्डु टुडे २०८१ असार २२ गते १३:४८ मा प्रकाशित

काठमाण्डु, २२ असार– मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नयाँ समीकरण अनुसार सरकार पुनर्गठन गर्नुपर्ने भएकाले चार दलका ६ मन्त्रीलाई राजिनामा गर्न आग्रह अस्वीकार गर्दा बर्खास्त गरेको जानकारी दिएका छन ।

जनमत पार्टीका सिंह एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा गत जेष्ठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

सत्ता समीकरण उलटफेर भएपछि उनले आज शनिबार माओवादी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

मन्त्रीहरुलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउन गएका मुख्यमन्त्री सिंहले भने, ‘नयाँ सत्ता समीकरण अनुसार चार दलका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थिए ।

उहाँहरुले बर्खास्त नै गरिदिनुस् भन्नुभो । त्यसपछि सहमतिमै बर्खास्त गरेको हुँ ।’ उनले थपे, ‘सरकारमा अहिलेसम्म सबै दलका मन्त्रीहरु पूर्णरुपमा सहयोग गर्नु भएको छ, ‘उहाँहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । उहाँहरुले राजीनामा दिएको भए टोकन अफ लभ दिएर विदाई गर्ने सोचेको थिए ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us