
दमक, १८ साउन – यस जिल्लामा सहकारी संस्थाहरूले बर्सेनि १० अर्ब भन्दा बढीको कारोबार गर्दै आएका छन् ।
जिल्लामा सञ्चालनमा रहेका बचत तथा ऋण र अन्य विभिन्न प्रकृतिका सहकारीले वार्षिक सरदर १० अर्ब रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार गर्दै आएका छन् ।
जिल्ला डिभिजन कार्यालयका अनुसार ती सहकारीमध्ये सबैभन्दा ठूलो कारोबार गर्ने सहकारीमा नेपाल बहुउद्देश्यीय र सहारा नेपाल बचत तथा ऋण सहकारी रहेका छन् । ती संस्थाले वार्षिक दुई अर्बभन्दा बढीको कारोबार गरिआएका छन् ।
त्यस्तै रु पाँच करोडभन्दा बढीको कारोबार गर्ने सहकारीको सङ्ख्या ३५ पुगेको छ । रु एक करोडभन्दा बढीको कारोबार गर्ने सहकारीको सङ्ख्या १०४ पुगेको डिभिजन सहकारी अधिकृत नेत्रप्रसाद घिमिरेले जानकारी दिए ।
बढ्दो सहरीकरणसँगै बढेको व्यापारिक कारोबार र विप्रेषणका कारण सहकारीमा कारोबार बढेको उाले बताए ।
खासगरी दमक, अनारमनी, मेचीनगर, सुरुङ्गा, सतासीधाम, बुधबारे, शनिश्चरेमा बढी कारोबार गर्ने सहकारीहरू सहर केन्द्रित रहेका छन् ।
यसैगरी, गएको आर्थिक वर्षमा मात्र थप ८२ वटा सहकारी दर्ता भई अहिले जिल्लामा कुल ७९९ वटा सहकारी पुगेको जनाइएको छ । यसमध्ये १५० सहकारी संस्थाको दर्ता खारेज गरिएको डिभिजन प्रमुख घिमिरेले जानकारी दिए ।
जिल्लाका यी सहकारीमा महिला एक लाख ९० हजार र पुरुष एक लाख ३२ हजार गरी तीन लाख २२ हजार मानिस सङ्गठित भएका छन् ।
त्यस्तै, सहकारीको सञ्चालकमा तीन हजार ६५ महिला र चार हजार ५९८ पुरुष रहेको जिल्ला सहकारी सङ्घले जनाएको छ ।
सहकारीमा अहिले दुई हजार ४६३ जनाले कर्मचारीका रूपमा प्रत्यक्ष रोजगारी पाएका छन् । डिभिजन सहकारीका अनुसार जिल्लाका सहकारीमा कुल सेयर पुँजी करिब एक अर्ब ६९ करोड ३८ लाख २८ हजार ३१६, कोष हिसाबमा ९७ करोड ८३ लाख ३५ हजार ७५४, बचत निक्षेप छ अर्ब ४० करोड २४ लाख ९३ हजार ८८४, कर्जा लगानीमा रु सात अर्ब ५३ करोड ३७ लाख एक हजार ६२२ र नाफा १९ करोड ९२ लाख छ हजार ९४८ रहेको जनाइएको छ । रासस