चीनको सीमा क्षेत्र तिंकरमा सशस्त्र प्रहरीको क्याम्प स्थापना

काठमाण्डु टुडे २०८० भदौ २३ गते १४:३७ मा प्रकाशित

दार्चुला, २३ भदौ– दार्चुलाको व्यास गाउँपालिका–१ छयाँलेक तिंकरस्थित नेपाल–चीन सीमामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले शुक्रबार आयोजित एक कार्यक्रमबीच बिओपीको उदघाटन गरे । सो स्थान दार्चुला सदरमुकाम खलंगाबाट करिब १ सय १२ किलोमिटर उत्तरमा अवस्थित छ ।

यसअघि सशस्त्र प्रहरीको चीनको सीमानामा हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोला सहित ८ ठाउँमा बिओपी थियो ।

तिंकरमा स्थापना भएको बिओपीसहित चीनतर्फ ९ वटा र भारततर्फ २ सय ४३ गरी बिओपीको संख्या २ सय ५२ वटा पुगेको छ ।

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बिओपी स्थापनाको लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति गत १३ भदौमै लगिसकिएको थियो ।

उक्त बिओपीबाट भारतको नाभिडाङ र चीनको ताक्लाकोट बजार नजिकै पर्छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us