गृहमन्त्री र बालेन्द्रबीच भनाभनः श्रीमतीको गाडी रोक्ने ट्राफिकलाई कारबाही गर्न बालेनको माग, पुरस्कृत गर्ने श्रेष्ठको जवाफ

काठमाण्डु टुडे २०८० भदौ १८ गते ९:२९ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नी श्रीमती चढेको गाडी रोकेर चेकजाँच गर्ने ट्राफिक प्रहरीमाथि कारबाही गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दबाब दिएका छन् ।

गाडी रोकिएको थाहा पाउने बित्तिकै साहले काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई टेलिफोन गरी हप्काएका थिए । बस्नेतलाई पनि उनले प्रहरीमाथि कारबाही गर्न भनेका थिए । बस्नेतले ड्युटीमा जिम्मेवारी निर्वाह गरेका कारण प्रहरीमाथि कारबाही नहुने जवाफ दिए ।

सार्वजनिक बिदाका दिन पूर्वअनुमति नलिई गाडी चलाउन नमिल्ने जवाफ उनको थियो । लगत्तै बालेन्द्रले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई टेलिफोन गरी घटनाबारे बताए र प्रहरीलाई कारबाही गर्न माग राखे । श्रेष्ठले प्रहरीलाई कारबाहीको साटो पुरस्कृत गर्नुपर्ने जवाफ दिए ।

‘प्रहरीले को सानो मान्छे, को ठूलो मान्छे हेर्दैन । बिदाका दिन पास नलिई चलाइएको गाडी रोक्नु प्रहरीको कर्तव्य हो । यदि तपाईंले भनेको साँचो हो भने कारबाही होइन, ती प्रहरीलाई पुरस्कृत गर्छु’, श्रेष्ठको भनाइ उद्धृत गर्दै उनको सचिवालएका एक सहयोगीले भने ।

श्रेष्ठको कुरा सुनेपछि उनले झोक्किँदै फोन काटेका थिए । लगत्तै उनले फेशबुकमा संहदरबार जलाइदिने उत्तेजक पोष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us