
काठमाण्डु, १७ भदौ– हवाई जहाजको सुविधा नपाएका कारण बालकको ज्यान गएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर भएको छ ।
प्राधिकरणले गत २१ साउनमा मुलुकका विभिन्न २९ विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयका कारण जहाज र हेलिकोप्टर नपाउँदा हुम्ला सिमकोट गाउँपालिका–६ का ६ महिने बालक इमरान सुनारको २६ साउनमा मृत्यु भएको थियो ।
हचुवाका भरका गरिएको गलत र अव्यवहारिक निर्णयका जहाज सुविधाको अभावमा नाबालकको ज्यान भएको विषयमा अधिवक्ता गणेशबहादुर ओलीले महानिर्देशक अधिकारीविरुद्ध आइतबार रिट दायर गरेका हुन् ।
‘उडान अनुमति नदिने गरी गरेको निर्णयका कारण मिति २०८० साउन २६ गते हुम्ला जिल्ला सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनारको थप उपचारका लागि अस्पतालबाट रिफर गरेको र प्राधिकरणको निर्णय कार्यान्वयनको क्रममा हवाई सेवा प्रदायकले उडान नगर्दा मुत्यु भएको थियो,’ रिटमा भनिएको छ, ‘सो घटनाको कारण व्यापक जनदबाब र राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएपश्चात निर्णयबाट पछि हटेको थियो ।’
रिटमा विपक्षीहरूले यस्तो निर्णय गर्नुको कारणसहितको जवाफ माग गर्नुका साथै निर्णयकर्तालाई कारबाही गर्न उपयुक्त आदेशसहितको परमादेश माग गरिएको छ। यस्तै अकालमा ज्यान गुमाएका नाबालका परिवारलाई उचित क्षतिपूर्तिका लागि परमादेश माग गरिएको छ ।
रिटमा महानिर्देशक अधिकारीका साथै नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि विपक्षी बनाइएको छ । यसैबीच उच्च अदालतले रिटको प्रारम्भिक पेशी मंगलबारका लागि तोकेको छ ।