
काठमाण्डु, १७ भदौ– काँग्रेस नेतृ एवं सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले बाँदरको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी उनले समिति बैठकमा आइतबार बाँदर आतंक नियन्त्रणका लागि परिवार नियोजन गर्नुपर्ने बताइन् ।
बाँदर र बँदेल संरक्षण गर्नुपर्छ भन्नेमा आफू पनि सहमत रहेको तर, मानिसले नै खान नपाउने गरी बाँदर संरक्षण गरिन नहुने उनको भनाइ थियो ।
भारतको मिहाञ्चल प्रदेशमा परिवार नियोजन गरेर बाँदर नियन्त्रण गरिएको उदाहरण उनले प्रस्तुत गरिन् । बँदेल मानिसले खाए पनि बाँदर नखाने भएकाले परिवार नियोजन नै उपयुक्त विकल्प रहेको उनले बताइन् ।
‘बँदेल मानिसले खान्छन्, बाँदर नखालान्। बाँदरलाई परिवार नियोजन गरे हुने रहेछ । भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ,’ आरजुले भनिन्, ‘बँदेल र बाँदर नियन्त्रणका लागि नीतिगत व्यवस्था गर्नुपर्छ । ’बाँदर र बँदेलका कारण किसानले खेतबारीमा लगाएको बाली भित्र्याउन नसकेको उनको भनाइ छ ।