सातामा सेयर कारोबार रकम साढे ५४ प्रतिशतले घट्यो, नेप्से ७.८४ अंकले गिरावट
काठमाण्डु टुडे
२०७१ साउन १६ गते १२:४० मा प्रकाशित
काठमाण्डु , १६ साउन – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार रकम ५४.४४ प्रतिशतले घटेको छ । अघिल्लो साताको तुलनामा यस पटक कारोबार रकम उल्लेख्य रुपमा घटेको हो।
यो साता चार दिन भएको कारोबारमा १६३ कम्पनीका सेयर किनबेच भएका छन्। चार दिनमा १४ हजार छ सय ४७ पटक भएको कारोबारमा दुई अर्ब चार करोड २८ लाख १४ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका छन्।
नेप्सेमा एक सातामा ६८ लाख ४२ हजार दुई सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएको हो। अघिल्लो साता एक सय ७० कम्पनीहरुको कारोबार भएको थियो।
अघिल्लो साता २४ हजार सात सय ५९ कारोबारबाट चार अर्ब ४८ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका थिए। जसमा ९० लाख ७१ हजार दुई सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएको थियो। कारोबार रकम गत साताको तुलनामा ५४.४४ प्रतिशतले कम हो।
एक सातामा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७.८४ अंकले घटेर अन्तिम दिन १०६६.०९ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.७१ अंकले घटेर २२८.४२ अंकमा आईपुगेको छ। यो साता कारोबार रकम (१९ करोड ७७ लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ।
त्यसै गरी कारोबार भएको सेयर संख्या (२२ लाख २ हजार कित्ता) को आधारमा नबिल ब्यालेन्स फन्ड अग्रस्थानमा छ। त्यसै गरी कारोबार संख्या (१२९८ वटा) को आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहेको छ।
वीजमाण्डुबाट