ओलीको बदनियत रोक्न यो गठबन्धन बनेको होः खड्का

काठमाण्डु टुडे २०८० भदौ २ गते २०:२६ मा प्रकाशित

रुपन्देही, २ भदौ– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन बनेको बताएका छन् ।

काँग्रेस रुपन्देही क्षेत्र नम्बर–३ को क्षेत्रीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै खड्काले जनताको अधिकार हातमा लिने तत्कालीन प्रधानमन्त्री केपी ओलीको बदनियत रोक्न गठबन्धन गरिएको बताए ।

निर्वाचनबाट कांग्रेस ठूलो दल भए पनि पुस १० पछि कार्यकर्तामा निराशा छाएको स्मरण गरे । सोही कारण तत्कालीन प्रतिकूलतालाई सफलतापूर्वक अनुकूलतामा परिवर्तन गरेको स्मरण गरे ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसले राष्ट्रपतिदेखि चारवटा प्रदेशमा नेतृत्वसमेत गरेको बताए । ‘प्रतिकूलतालाई अनुकूलतामा बदलेर कांग्रेस सहितको सहभागितामा पुष्पकमल दहालको नेतृत्वमा संघदेखि प्रदेशसम्म अभियान चलायौं’, उनले भने, ‘यो चार महिना हामी सरकारमा रहेपछिको उपलब्धी समीक्षाको विषय हुनुपर्छ । केही कमीकमजोरी भए यसलाई सच्याउनुपर्छ ।’

मन्त्री खड्काले संघले बनाउनुपर्ने सबै संघीय ऐनहरूलाई सरकारले प्राथमिकतामा राखेर यसै अधिवेशनमा संसदमा लैजाने बताए। उनले संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन र संघीय प्रहरी ऐन, समानान्तररूपमा अगाडि बढेको र चाँडै नै संसदमा पेस गरिने बताए।

उपप्रधानमन्त्री खड्काले ढिलोमा आठ–दश दिनभित्र संघीय शिक्षा ऐन पनि संसदमा लैजाने बताए । उनले आवश्यक ऐन सके यसै अधिवेशनमा एवं अन्यलाई हिउँदे अधिवेशनमा पेस गर्ने लक्ष्यसहित सरकार अगाडि बढेको बताए । ऐनहरू संसदमा पेस गर्नुअघि सरोकारवाला निकायसँग आवश्यक छलफल गरी अगाडि बढ्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us