मेडिकल काउन्सिलले भन्योः डा. दिलजान मन्सुरको उपचार विधि गलत र अवैज्ञानिक

काठमाण्डु टुडे २०८० भदौ १ गते १६:१० मा प्रकाशित

काठमाण्डु, १ भदौ– नेपाल मेडिकल काउन्सिलले डा. दिलजान मन्सुरको उपचार विधि अवैज्ञानिक रहेको ठहर गरेको छ ।

काउन्सिलले आगामी दिनमा स्थापित मूल्यमान्यताका आधारमा मात्र बिरामी उपचार गर्न मन्सुरलाई सचेतसमेत गराएको छ । मन्सुरले काठमाण्डुको मैतिदेवीमा सञ्चालन गरेको क्लिनक काठमाण्डु महानगरपालिकाले यसअघि नै बन्द गरिदिएको थियो । काउन्सिलमा अवैज्ञानिक पद्धतिबाट उनले बिरामीको उपचार गर्ने गरेको भन्दै उजुरी परेको थियो ।

काउन्सिलले उपचारका लागि आएका सबै बिरामीलहरुलाई एउटै कक्षामा राखी स्थापित वैज्ञानिक मूल्य मान्यताविपरीत एकै प्रकारको परामर्श दिनु तथा तथा सबै प्रकृतिका रोगहरुको लागि डाइट प्लान दिनु मन्सुरको गलत कदम भनेको छ ।

यस्तै मस्नुरले अरु चिकित्सकले सिफारिस गरेका औषधि बिना तथ्य थपघट गरेको, काउन्सिलले जारी गरेको प्रेस्क्रिप्सन गाइडलाइन पालना नगरेको, सबै बिरामीलाई शारीरिक तौल घटाउन किटो डाइट सिफारिस गरेको पनि काउन्सिलले जनाएको छ ।

‘विज्ञहरुको रायका आधारमा स्थापित वैज्ञानिक मूल्य मान्यताअनुरुप उपचार नगरेको पाइएकोले निज डा. दिलजान मन्सुरलाई अब उपरान्त स्थापित वैज्ञानिक मूल्य मान्यताअनुरुप उपचार गर्न गराउनु भनी अन्तिम पटकलाई सचेत गराउने,’ काउन्सिलको निर्णयमा भनिएको छ ।

काउन्सिलले गैरवैज्ञानिक उपचार विधि तत्काल रोक्न, तथा बिरामीलाई सामूहिक नभई व्यक्तिगत रुपमा परामर्श र उपचार गर्न मन्सुरलाई निर्देशन दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us