
काठमाण्डु, ३२ साउन– अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रमुख प्रतिपक्षी एमालेले अनावश्यक बखेडा झिकेर लगातार सांसद अवरुद्ध पारेको टिप्पणी गरेका छन् ।
जनकपुरमा बिहीबार आयोजित पत्रकार भेटघाटमा महतले जनप्रतिनिधिमुलक थलो संसद अवरुद्ध गरिनु कुनै हालतमा सही काम हुन नसक्ने बताए ।
महतले सरकारलाई बाटो देखाउन र सिर्जनात्मक कामका लागि प्रतिपक्षले विरोध गर्ने अधिकार राख्ने भए पनि जनताको आवाज प्रतिनिधित्व गर्ने थलो संसद्लाई गतिहीन बनाउने अधिकार कसैलाई नभएको उल्लेख गरे ।
लगातारको अवरोधका कारण संसद्मा लैजानका लागि तयार गरिएका धरेै विधेयक रोकिएको बताए ।
‘अनावश्यक बखेडा झिकेर संसद अवरुद्ध गरएका कारण कैयौँ महत्वपूर्ण विषयवस्तु र कानुन निर्माणका विषयमा छलफल गर्न सकिएको छैन’, उनले भने ।
फरक प्रसंगमा मन्त्री महतले पर्याप्त श्रोतको अभावमा मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नसकिएको स्वीकार गरे ।