
सप्तरी, १५ साउन– सहकारी डिभिजन कार्यालय लहानले आर्थिक वर्ष २०७०/०७१ मा सप्तरी र सिरहाको १८ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।
दर्ता भएको लामो समयसम्म पनि कुनै कारोबार नगरेको भन्दै सहकारी डिभिजन कार्यालय लहानले सप्तरीको १२ वटा र सिरहाको ६ वटा संस्थाको दर्ता खारेज गरेको हो ।
दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार नदेखाएकाले ती संस्थाको दर्ता खारेज गरिएको सहकारी डिभिजन कार्यालयका सहायक सहकारी निरीक्षक फणिन्द्र विश्वकर्माले जानकारी दिए ।
आव२०७०/०७१ मा सप्तरीमा बचत सहकारी १२ र कृषि सहकारी संस्था ३१ वटा गरी ४३ वटा र सिरहामा बचत सहकारीका नौ, कृषि सहकारी संस्थाका ४६, मत्स्य सहकारी संस्था एउटा र बहुउद्देश्यीय सहकारी संस्थाका एउटा गरी ५७ वटा नयाा सहकारी संस्था दर्ता भएको सहायक सहकारी निरीक्षक विश्वकर्माले बताए ।
योसँगै सप्तरीमा सहकारीको सङ्ख्या अब ५९१ वटा पुगेको छ भने सिरहामा सहकारी संस्थाको सङ्ख्या ६३१ पुगेको छ । सहकारी डिभिजन कार्यालयले सप्तरी र सिरहालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको जनाएको छ ।