
काठमाण्डु,३१ वैशाख-युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यमको रुपमा स्काउटलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल स्काउटले आइतबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री लिम्बुले ‘एक घरस् एक स्काउट’को अवधारणा अनुसार अघि बढ्दा देश र जनताप्रति जवाफदेही युवाहरु उत्पादन गर्न सकिने बताए ।
उनले स्काउटलाई तल्लो तहसम्म लैजान सक्ने हो भने युवाहरुलाई अनुशासित र राष्ट्रप्रति जिम्मेवार बनाउन सहज हुने स्मरण गराए । उनले भने, ‘नेपाल स्काउटलाई तल्लो तहमा लिएर जान सकियो भने राम्रो हुन्छ ।
एक घरस् एक स्काउटको अवधारणा आइसकेकै अवस्था छ । र, अहिले हामीसँग युवाहरुलाई राष्ट्र विकासको मूल धारमा जोडने माध्यमको रुपमा यो स्काउटलाई हामी उपयोग गर्न सक्छौं ।
एउटा घरमा हामीले एउटा स्काउट जन्माउँदै गर्दाखेरी एउटा अनुशासित युवा, त्यहाँबाट प्रशिक्षित भएर आउँदैगर्दा निश्चयनै राष्ट्रप्रति जवाफदेही पूर्ण ढंगले अगाडि बढने, राष्ट्रप्रति जिम्मेवारीबोध गर्ने युवाहरु हामीले उत्पादन गर्न सक्छौं भन्ने मलाई लाग्दछ ।’
लिम्बुले नेपाल स्काउटको प्रगतिका लागि आफूले त्यससँग सम्बन्धित कानुनहरुलाई समयानुकूल हुने गरी परिमार्जन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। मन्त्री लिम्बुले मुलुकलाई समृद्ध बनाउन नेपाल स्काउटले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने विश्वास समेत व्यक्त गरे ।
नेपाल स्काउट अन्तराष्ट्रिय संस्था पनि भएकाले विभिन्न अन्तराष्ट्रिय निकायहरुसँग छलफल गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनका लागि पहल गर्न सकिने उनको भनाई थियो ।
उनले भने, ‘ हाम्रो संकल्पले यो मुलुकमा निश्चय पनि केही परिवर्तन हुन सक्छ।नेपाल स्काउट एउटा अन्तराष्ट्रिय संस्था भएकाले अन्तराष्ट्रिय निकायहरुसँग पनि हामी छलफल गरेर हाम्रो मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छौं । त्यो संकल्प गरेर हामी अगाडि बढौं।