एमालेमा गएका माओवादी नेताहरु पुरानै पार्टीमा फर्कने !

काठमाण्डु टुडे २०७९ चैत २७ गते १७:५० मा प्रकाशित

काठमाण्डु, २७ चैत– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले एमालेमा गएमा माओवादी नेताहरु पुनः पार्टीमा फर्कने तयारीमा रहेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा महराले एमालेमा गएका नेतालाई पार्टीमा फर्काउने प्रयास जारी रहेको बताए । ती नेताहरु संवादमा रहेको र पार्टीमा फर्कने दाबी उनको थियो । ‘कुराकानी भइरहेको छ, तत्काल नभए पनि केही समयमा उहाँहरु पार्टीमा फर्कने वातावरण बन्दै गएको छ’, उनले भने ।

महराले जुनसुकै पार्टी र समूहमा रहेको भए पनि पूर्वमाओवादी नेताहरुमा जनयुद्ध, विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायका विषयमा समान धारणा रहेको बताए । आइतबार मात्र सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन कैलालीको धनगढी पुगेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई अत्तरियास्थित उनकै घरमा पुगेर भेटेका थिए । जनयुद्धकालीन नेता भट्ट नेकपा विभाजनपछि एमाले प्रवेश गरेका थिए ।

फरक प्रसंगमा महराले संक्रमणकालीन न्याय सम्बन्धमा न्यायालय र न्यायाधीशले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरे । विस्तृत शान्ति सम्झौताको मर्म र भावना न्यायायल र न्यायाधीशले पनि बुझ्नुपर्ने उनको धभनाइ थियो । ‘संक्रमणकालीन न्यायको विषय सत्य निरुपण आयोगद्वारा निरुपण हुनुपर्छ’, महराले भने, ‘अदालतले वा न्यायाधीशले हस्तक्षेप गर्ने विषय होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us